म कुमारी आमा

मलाई लाग्दैन –
यो सतीले सरापेको देश हो
बरू लाग्छ –
देशसँग सतीको दुस्मनी भन्दा पनि
देशको सतीहरूसँगको प्यार बहुत छ ।

हो
म त्यहि सती मध्य एक हुँ
जो देशले दिएको माया अङ्गाल्न नसकेर
बारम्बार मरिरहेछु
घरि निर्मला बनेर
घरि शारदा बनेर
घरी सावित्री बनेर
घरि कुन्ति बनेर
घरी याेगमाया बनेर
घरी द्राैपती बनेर
घरी मेरै अामाकाे एक अंश बनेर ।

दिनदहाडै बेचिन्छ मलाई
दिनदहाडै बलात्कृत हुन्छु म
र हिड्छु घाईते घाङ्गरको फेरोबाट
चुहाउँद‌ै चुहाउँद‌ै लालिगुराको रङ
बनाउँदै बनाउदै त्यहि
राताे रङले देशकाे नक्सा
म हिँडिरहेछु –
निरन्तर निरन्तर सहिद हिँडेकाे बाटाे ।

मलाई चिच्याएर रुनको खातिर
अध्यारो हुनै पर्दैन
म हरेक उज्यालोहरूमा
निष्पट्ट कालो बाचिरहेछु
लाटोकोसेरो रातमा बिउँझिए जस्तै
म खाेजी रहेछु अाफ्नै जीवनकाे लालपुर्जा
र हेरिरहेछु मझेरीमा धिपधिपाई रहेकाे दियाे
र संझिरहेछु मेरी आमाको ईतिहाँस।

निर्मम हलीले बुढो गोरु पिटेझैँ
बाले आमालाई पिटिरहँदा
ढोकाको दुई खापा जोडिएको सानो प्वालबाट
आमाको आँखामा उर्लिएको गण्डकी
हेर्न मात्र सक्छु तर रोक्न सक्दिनँ
किन कि आमा गण्डकी हुन भने
मेरा बा समुन्द्र हुन्
मलाई थाहा छ समुन्द्रले गण्डकी छोपेजस्तो
गण्डकीले समुन्द्र छोप्न सक्दिनन् ।

साँच्चै म –
यौबनले स्पर्श गरेको थाहा नहुँदै
छातिमा –
दुईवटा थुम्काहरू राम्ररी उम्रन नभ्याउँदै
पहिलो रजस्वलाको पिडावाट बाहिर निस्कन नपाउँदै
अझै भनौं –
यौनको परिभाषा जान्न नपाउँदै
गर्भिणी भएकि छु
मलाई यत्ति पनि थाहा छैन
तराईका फाँटहरूमा
मार्सी धान झार्दै गर्दा म गर्भिणी भएँ?
पहाडका टाकुराहरुमा हर्के काकासँग
गाई चराईरहदा म गर्भिणी भएँ?
या हिमालको चिसो सिरेटोले
मेरो फक्रिदो यौवनलाई स्पर्श
गर्नेवितिक्कै म गर्भिणी भएँ?
तर मलाई जरुर थाहा छ
यो यस्तो देश हो जहाँ
पाईलापाईलामा पर्खिएका हुन्छन्
बलात्कारी नजरहरू, गिद्दे औलाहरु
हृदयविहिन स्तन्भहरु,
यहि परिबेशबाट मैले एउटा
धमिलो वाक्य कोरेकि छु
आखिर देश भन्नु नै पुरुषहरूको जमात न रहेछ ।

सम्झन्छु त्यो दिन –
आकाश मडारिएर परेको वर्षा
म रोएर झरेको आँसु
प्रकृति रिसाएर चम्किएको विजुली
म आफैँसँग हारेर बगेको रगतकाे नदी
रगत र आँसुको मिश्रणले –
निथ्रुक्क भिजेको मेरो घाँगर
उ ……..फ मेरो बालापन।

ए बुद्द, ए सगरमाथा, ए राष्ट्रिय झन्डा
ए सुस्ता, कालापानी, लालीगुराँस
काली, गन्डकि, सबै सबैले सुन
अझै सुन आफूलाई विवेकशील ठान्ने
मुर्ति स्तम्भहरू,
म मेरो सन्तानलाई
लिम्पियाधुरामा लगरे उभ्याउनेछु
जसले गर्नेछ सिमानाको वकालत
जसले जोगाउनेछ आमाको फरिया
जसले बुझ्नेछ माटोको चरम अस्तित्व
जसले तिमीलाई पढाउने छ
गुप्ताङ्गको परिभाषा
मलाई विश्वास छ
त्यहि दिन तिमीले रोस्टममा उभिएर भन्नेछौ
अबका दिनहरूमा बन्नुपर्ने छैन
कुनै पनि छोरीले कुमारी आमा

✍️रोजिना पराजुली
चौतारा सागाचोकगढी -२
सिन्धुपाल्चोक

बागमति प्रदेशबाट तेस्रोहुन सफल कविता ‘म कुमारी आमा‘ भिडियो हेर्नुहोस्