यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

छोरीलाई चिठी


Advertisement
छोरीलाई चिठी
प्यारी छोरी !
असीम प्रेम र आशीर्वाद !
जब तिमी बुझ्ने हुनेछ्यौ
तब प्रश्न गर्नेछ्यौ
किन सङ्कुचित छ मेरो समाजको परिधि ?
किन छैन भाइको झैँ स्वतन्त्र अस्तित्व ?
त्यतिबेला तिम्रो प्रश्नको उत्तर दिन
म रहुँला नरहुँला
त्यसैले आज यो चिठी लेख्दैछु ।
छोरी !
तिमीले टेकेको धर्ती
देखेको आकाश,
पुजेको ईश्वर तिम्रो होइन
तिमीले त आफै निर्माण गर्नु छ
आफू उभिने धरातल
फैलने आकाश र
आस्थाको ईश्वर ।
यहाँ तिम्रा पैतालामा बिछ्याइने छ
धारिला क्याक्टस
र पनि पार गर्नु छ
जिन्दगीको सुदीर्घ यात्रा,
रच्नु छ सपनाको एकादेश,
परिस्थितिअनुसार तिमी
कहिले फूल त कहिले काँडा बन्नुपर्छ
यहाँ तिम्रो हिँडाइको चाल नाप्न
बित्ता लिएर बस्नेहरू छन्,
छातीको उचाइ र आँखाको
गहिराई नाप्न
फित्ता लिएर बस्नेहरू छन्
तर तिमी वेपर्वाह फुल्ने छौ
पहरामा गुराँसझैँ
जहाँ छोरी, पत्नी आमाभन्दा भिन्न
तिम्रो आफ्नै स्वतन्त्र पहिचान हुनेछ,
बोल्ने आफ्नै भाषा हुनेछ,
जीवनको आफ्नै लय र रङ्ग हुनेछ
हिँडाइको आफ्नै ढङ्ग हुनेछ
तिम्रो आफ्नो पैतालाको संसार हुनेछ
स्वतन्त्र सत्ता हुनेछ
उहीँ तिम्री आमा ।
