Comments Add Comment

कविता- मैले आँखा खोलिसकेँ

-उत्सव चौलागाइ

लोकतन्त्रका लागि
निरंकुशतासँग लड्दै गर्दा
तिमी आनन्दको राप तापेर बसेका थियौ
आज समयले कोल्टे फेर्‍यो
तिमी फेरि झुल्किदै छौ
गणतन्त्रको सगरमाथाबाट ।

मेरो नारालाई अराष्ट्रिय देख्ने
तिम्रो आँखाले
त्यही नारा अहिले प्रिय छ तिमीलाई
जतिबेला
मेरो चप्पलको तलुवा
खिइँदै थियो मुक्तिपथको यात्रामा
ठिक त्यतिबेला
तिम्रा खुट्टाहरु कुनै रङ्गिन
डान्सबारमा नाचिरहेका थिए ।

मेरो भोको पेटले
समानताको नारा लगाइरहँदा
तिमी मिष्ठान्न भोजनमा
रमाइरहेका थियौ ।

जतिबेला
कठबाँसको लाठी
टाउकाहरूमा बज्रिएको थियो
छातीहरूले गोली थापिरहेका थिए
त्यतिबेला तिमी कौसीमा
घाम तापिरहेका थियौ ।

मलाई अहिले पनि याद छ
निर्ममताको त्यो क्षणमा
तिम्रो निरकुंश हात हाम्रा विरुद्ध उठेका थिए
निर्दयी मन हाम्रा सपनाको विपक्षमा थियो
तिमी खुब हासेका थियौ
सडक देखेर
मेरो हातको कथित हत्कडी देखेर ।

कारागार भित्र पनि म
गणतन्त्रको सुनौलो घाम
पर्खिरहेको थिएँ
तिमी दरबारको भजन गाएर
घरबार सुधार्न लागिरहेका थियौ
निरंकुशतन्त्रको अगुवाइ गर्दै थियौ ।

आज फेरि पारिलो घाम लागेपछि
तिमी नै अगुवा बनेर पो झुल्कियौ
मलाई थाहा छ
झुसिल्किराहरूको सङ्ख्या बढेपछि
हरिया पातहरू नासिदै जान्छन् ।

मलाई हरिया पातहरू प्रिय छ
डियर कमरेड!
तिम्रो मुकुण्डो उतार
मैले आँखा खोलिसकेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

कोरोना र अनुत्तरित प्रश्नहरु

कोरोनाका कारण २५ शिक्षकको मृत्यू