Comments Add Comment

ठूलोमात्रामा चाँदीको गहनासहित एक पक्राउ

भारतबाट अवैधरूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए।

उहाँका अनुसार, गुप्तालाई जाँचका क्रममा झोलाबाट गरगहना फेला पारेपछि सुनचाँदी व्यवसायी सङ्घ बाँकेमा परीक्षण गरिएको थियो। पाँच किलो ४९५ ग्राम धातुमध्ये परीक्षणपछि दुई किलो ७१७ ग्राम ५०० मिलीग्राम चाँदी रहेको पुष्टि भएको छ। उक्त चाँदीको नेपाली मूल्य एक लाख ७१ हजार २४१ हुने बताइएको छ।

गुलरिया नगरपालिका–६ बर्दियाका ३१ वर्षीय गुप्ता नेपालगञ्जको देवाफूलबारीमा कोठा भाडामा बस्दै आएका थिए। भारतबाट अवैधरूपमा नेपालगञ्ज ल्याएर सङ्कलन गरिएका चाँदीका गहना बर्दिया लैजाने क्रममा नेपालगञ्जको टाँगास्टेशन नजिकबाट प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो। गुप्तालाई चाँदीसहित आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर