मकवानपुर ११ साउन । सुनचाँदी पसलबाट सुनचाँदीका गरगहना चोरी गरेर फरार भएका हेटौँडा १८ निवासी रमेश कालिराजलाई प्रहरीले आज शनिवार पक्राउ गरेको छ ।

गत साउन ५ गते दाँङ जिल्लाकोे घोराहीस्थित सुनचाँदी पसलबाट सुनचाँदीका गरगहना चोरी गर्ने कालिराजलाई आज मकवानपुर प्रहरीले हेटौँडा १० बसपार्कबाट पक्राउ गरेको हो ।

प्रहरीले आज कालिराजलाई शंकाको आधारमा खानतलासी गर्दा उनले चोरी गरेको ३ किलो ९५० ग्राम सुनचाँदीका गरगहना र नगद १० हजार उनको झोलाबाट फेला परेपछि कालिराजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।

प्रवक्ता भट्टराईका अनुसार उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दाँङ पठाउने तयारी गरिएको छ ।

सुनचाँदी चोर्ने व्यक्ति हेटौँडाको भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जिल्ला प्रहरी कार्यालय दाँङले खोजतलास गरिदिन भन्दै पत्र पठाएको थियो ।