उपचारको क्रममा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टी गर्ने तयारी भइरहेको छ । डा. गुणराज लोहनीको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ ।

जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएको उनको धुलिखेल अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण दुवैको नतिजा पोजेटिभ आएको थियो ।