प्रदेश नम्बर–३ को नाम र स्थायी राजधानीका लागि आज बिहान ९ बजेबाट मतदान हुने भएको छ । प्रदेश नम्बर–३ को नाम र राजधानीका लागि शनिबार संसदमा भएको छलफलपछि स्थगित बैठक आज बिहान ९ बजेका लागि आह्वान गरिएको हो । सभामुख सानुकुमार श्रेष्ठले शनिबारको बैठक स्थगित भएको जनाउँदै आज बिहानका लागि आह्वान गर्नुभएको हो ।
नामका विषयमा कुनैपनि दलका सांसदहरु विभाजित भएका छैनन् । तर, प्रदेश राजधानीका पक्षमा साझा र विवेकशील पार्टीका तीन जना सांसदले काभ्रे राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराएका छन् । संसद सचिवालयले आज बिहान खुल्ला मतदानको व्यवस्था गरेको छ । मतदानपछि प्रदेशको स्थायी राजधानी र नामाकरण हुनेछ । प्रदेश नम्बर ३ मा एक सय १० जना सांसद रहेका छन् । तीमध्ये सबैभन्दा बढी (नेकपा)को ८० जना सांसद रहेका छन् । हिजोको प्रदेशसभा बैठकमा सत्तारुढ नेकपा संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश ३ को राजधानी हेटौँको प्रस्ताव पेश गर्नुभएको थियो । पौडेलको प्रस्तावमा समर्थक प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी सांसद रिता माझी र राप्रपा प्रजातान्त्रीककी सांसद रिना गुरुङले प्रदेशसभा बैठकमा समर्थन जनाउनु भएको थियो ।