सिमराको एक लजमा महिलासँग आपत्तिजनक अवस्थमा भेटिएका हेटौंडाका एकजना प्रधानाध्यापक पदमुक्त गरिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित चुरियामाई माविका प्रधानाध्यापक विष्णु परियारलाई पदीय आचरण विरुद्ध कार्य गरेको भन्दै पदबाट मुक्त गर्ने निर्णय गरिएको हो ।
परियार शनिबार दिउँसो बाराको सिमरास्थित एक लजमा महिलासँग अपत्तिजनक अवस्थामा पक्राउ परेका थिए । परियार पक्राउ परेको समाचार सार्वजनिक भएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो । विद्यालयको प्रअको जिम्मेवारी विद्यालयकै सहायक प्रधानाध्यापक केशवप्रसाद खतिवडालाई दिने निर्णय समेत गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा बाराको टोलीले परियारसहित ९ जोडीलाई सिमराका विभिन्न होटलमा यौन क्रियाकलापमा संलग्न रहेको अवस्थामा शनिबार दिउँसो सिमराको विभिन्न होटल र लजबाट पक्राउ गरेको थियो ।