Comments Add Comment

अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । नववर्षका अवसरमा दिएको शुभकामना सन्देशमा उनले हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको, यसै वर्ष हामीले अन्तरराष्ट्रिय जगत्मा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको स्मरण गरेका छन् ।

“यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंँका लागि अन्त्य गर्‍यौंँ । विकासका केही दूरगामी योजना यसै वर्ष थालनी गर्‍यौंँ भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना सम्पन्न गर्‍यौं । चार वर्षअघिको भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नताउन्मुख छ,” सन्देशमा उनले उल्लेख गरेका छन् । व्यवसायका लागि सुरक्षित राष्ट्रका रुपमा नेपालको स्थान केही माथि पुगेको तथा आयात कटौती र निर्यातमा केही वृद्धि गरी सुदृढ अर्थतन्त्रको जग बसाल्न सफल भएको बताउँदै प्रधानमन्त्री ओलीले निराशाहरु विनिमय गरी समय बिताउने हाम्रो सामाजिक प्रवृत्ति सङ्क्रमणकालीन संशयलाई चिर्दै विकास, सुशासन र समृद्धितर्फको बहसमा अभ्यस्त हुन थालेको सन्देशमा उल्लेख गरेका छन् ।

“समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । समग्रमा राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गो समाज यस अवधिमा विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको छ,” सन्देशमा भनिएको छ । अव्यवस्था र अनिश्चयबाट लामो समय गुज्रेको मुलुकलाई विकास र समृद्धिमा लैजाने काममा चुनौती रहेको तथा देशले त्यस्ता अवरोधलाई भोगे पनि हामीले मुलुक र जनताको दीर्घकालीन हितमा अगाडि बढाएका पाइलालाई गन्तव्यतर्फ थप गतिशील बनाएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय समृद्धितर्फका हाम्रा पाइला आगामी वर्षमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले ग्रेगोरियन क्यालेण्डर र इस्वी संवत्को पात्रोअनुसार प्रत्येक वर्ष जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइने गरेको तथा वैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तरराष्ट्रिय प्रचलनमा रहेको इस्वी संवतलाई हामीले पनि अङ्ग्रेजी नयाँ वर्षका रुपमा मनाएको उल्लेख गरेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर