मकवानपुरको पूर्वी बकैया गाउँपालिका देशकै दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ। बिहिवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मकवानपुर जिल्लाको बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गर्नु भएको हो । पौडेलले देशमै दोस्रो बालमैत्री बनेकोमा बधाइ दिदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न आग्रह गर्नु भयो । अहिले घोषणाको शुभकामना दिइरहँदा यसलाई यो घोषणा मात्र नहोस् भन्दै उहाले बालमैत्री सूचकको निरन्तर निगरानी राख्न समेत आग्रह गर्नु भयो। बालमैत्री सूचकहरूभित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता महत्वपूर्ण कुरा भएकोले गाउँपालिकाका सबै पक्षहरूले यसलाई ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

बागमती प्रदेशका प्रतिपक्षका नेता इन्द्र बानियाँले बधाइ दिदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न आग्रह गर्नु भयो । दोस्रो गाउँपालिका घोषणा हुनु मात्रै सफल भएको भन्ने ठाँन्न नहुने भन्दै निरन्तर काम गर्न आग्रह गर्नु भयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले घोषणा हुँदै गर्दा जिल्ला समन्वयले अनुगमन गर्दा पालिकाले सबै सुचाकहरु पूरा गरेको बताउनु भयो । घोषणा मात्रै ठुलो कुरा नभइ आगामी दिनमा गर्ने कामहरु निरन्तर गर्न आग्रह गर्नु भयो । उहाँले सम्मुनत समाज निर्माण गर्नको लागि स्वास्थ्य शिक्षा सङै समग्र रुपको बिकास गर्नु आवश्यक रहेको बताउनु भयो ।

बालमैत्री पालिका घोषणाको लागि गाउँपालिकाले ९ वटै वडामा बाल सञ्जाल, बालमैत्री शाखा बनाएर अभियानलाई अघि बढाएको छ। गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको घोषणासभामा बागमती प्रदेशका प्रतिपक्षका नेता इन्द्र बानियाँ, प्रदेश सभा सदस्य जुनेलि श्रेष्ठ,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, भीमफेदी गाउँपालिका अध्यक्ष उपाध्यक्ष पार्बती राना मगर , बागमती गाउँपालिकाका उपाध्यक्ष धन माया श्याङ्तान लगायतको उपस्थिति थियो।