कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर आवश्यकता बमोजिम थाहा पाउन नेपाल टेलिकमको वेबसाइटबाटै सकिने भएको छ ।

हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकामा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो । नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पिएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको छ । त्यसका लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ ।

त्यहाँ दिइएको ‘टेलिफोन इन्क्वाइरी’मा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ । व्यक्तिगत ग्राहकका हकमा व्यक्तिको नामका साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकका हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।