विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमको थुनछेक बहस शुक्रबारसम्म पनि जारी रहने भएको छ । बिहीबार अदालती समयसम्म बहस नसकिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले खबरहबलाई जानकारी दिए ।
पराजुलीका अनुसार बिहीबार आलमको पक्षबाट ६ जना कानून व्यवसायीले बहस गरे । बिहीबार अधिवक्ताहरु रामविनोद गिरी, अनन्त अधिकारी, मजरुल हक, हरिशंकर प्रसाद, अफताव आलम र नन्दकिशोर साह ले आलमको पक्षबाट बहस गरे । जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले गत सोमबार आलमविरुद्ध अभियोग पत्र दायर गरेकोमा बुधबारदेखि थुनछेक बहस जारी छ ।
बहस शुरु भएको आठौं दिनसम्म आलमको पक्षबाट १५ जना कानून व्यवसायीहरुले बहस गरिसकेका छन् । स्थानीय कानून व्यवसायीहरु समेत गरी अझै करिब २० जनाले आलमको तर्फबाट बहस गर्ने भनेर वकालतनामा दर्ता गरेका श्रेस्तेदार पराजुलीले जानकारी दिए ।
आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव विथोल्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको आरोप लागेको छ । जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित ११ जनाविरुद्ध उक्त प्रकरणमा प्रतिवादी (अभियुक्त) बनाएर जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको छ ।
सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको छ भने अर्का १ जना अभियुक्तलाई मतियारको रुपमा प्रस्तुत गरी सोहीअनुसार सजाय मागदाबी गरेको छ ।