हेटौँडा र काठमाडौं जोड्ने छोटो दूरीको चित्लाङ–थानकोट मार्ग स्तरोन्नतिका लागि जेठ १७ गतेदेखि ३० गतेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। गणेशमान मार्ग अन्तर्गत पर्ने उक्त सडक खण्डमा ढलान, कालोपत्रे तथा टेवा पर्खाल निर्माणलगायतका काम गर्न लागिएकाले सवारी सञ्चालन रोक्न लागिएको सडक डिभिजन काठमाडौंले जनाएको छ। सडक डिभिजन काठमाडौंका इन्जिनियर पुरुषोत्तम भण्डारीका अनुसार कठिन भौगोलिक अवस्थाका कारण निर्माणस्थल हुँदै सवारीसाधन सञ्चालन गर्दा काममा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने भएकाले सडक बन्द गरेर निर्माण कार्य अघि बढाउन लागिएको हो।

यस अवधिमा करिब साढे सात किलोमिटर सडक खण्डमा कालोपत्रे र ढलानको काम हुनेछ, जसमा मकवानपुरतर्फ करिब १९ सय मिटर क्षेत्र र बाँकी काठमाडौंतर्फको भाग समेटिएको छ। साथै तीनदेखि चार स्थानमा टेवा पर्खाल निर्माण र १२ सय मिटर सडक ढलान गरिने योजना रहेको छ। हाल बजारमा बिटुमिन (अलकत्रा) को अभाव रहेकाले उपलब्ध हुनासाथ कालोपत्रेको कामलाई तीव्रता दिइने र अलकत्रा अभावकै कारण अर्को ठेक्काको काम पनि प्रभावित भएको डिभिजनले जनाएको छ। स्तरोन्नतिका क्रममा पानीघट्ट देखि चित्लाङ बजार सम्मको सडक पूर्ण रूपमा बन्द रहने भएकाले आवश्यक वैकल्पिक मार्ग प्रयोगमा सहजीकरण गरिदिन थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकालाई आग्रह गरिएको छ।