सुबिसु केबलनेट लिमिटेडले नेपाली इन्टरनेट बजारमा अत्याधुनिक ‘वाई-फाई सिक्स’ प्रविधि र प्रयोगकर्ताको अनलाइन सुरक्षाका लागि ‘सुबिसु सुरक्षा’ सेवा एकसाथ सार्वजनिक गरेको छ। इन्टरनेटमा भोग्नुपर्ने बफरिङ, कमजोर सिग्नल र ढिलो गतिको समस्यालाई स्थायी रूपमा हटाउने उद्देश्यले कम्पनीले यो नयाँ प्रविधि भित्र्याएको हो। वाई-फाई सिक्सले पुरानो प्रविधिको तुलनामा उच्च गतिको इन्टरनेट प्रदान गर्नुका साथै धेरै डिभाइसहरू एकै पटक कनेक्ट गर्दा पनि गुणस्तर कायम राख्ने र कभरेज क्षेत्रलाई समेत फराकिलो बनाउनेछ। विशेषगरी अनलाइन गेमिङ र भिडिओ स्ट्रिमिङका लागि यो प्रविधिले ‘लो–लेटेन्सी’ मार्फत उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

प्रविधिको विकाससँगै बढ्दै गएको डिजिटल जोखिमलाई मध्यनजर गर्दै कम्पनीले ‘सुबिसु सुरक्षा’ मार्फत थप सुरक्षात्मक तह प्रदान गरेको छ। यस सेवाले इन्टरनेट प्रयोगकर्ताहरूलाई हानिकारक वेबसाइट, सम्भावित साइबर आक्रमण र अनधिकृत पहुँचबाट सुरक्षित राख्न मद्दत गर्नेछ। नेपालमै पहिलो पटक यस्तो एकीकृत सुरक्षा प्याकेज ल्याएको जानकारी दिँदै सुबिसुका उपाध्यक्ष रामकृष्ण परियारले डिजिटल समयमा तीव्र गतिको इन्टरनेट मात्र नभई सुरक्षित कनेक्टिभिटी पनि अपरिहार्य रहेको बताउनुभएको छ। कम्पनीले यो नयाँ सेवालाई स्मार्ट, प्रो र एलिट गरी तीन फरक वाई-फाई सिक्स प्याकेजहरूमा उपलब्ध गराएको छ, जुन घरायसी र व्यावसायिक दुवै वर्गका ग्राहकका लागि उपयोगी हुने विश्वास लिइएको छ।