मकवानपुरगढी, ९ जेठ । मकवानपुरगढी गाउँपालिका वडा नं. ४ को खेलकुद विकास समितिद्वारा आयोजित “प्रथम वडा अध्यक्ष कप फुट्सल प्रतियोगिता” शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिता मकवानपुरगढी–३ मक्राञ्चुलीस्थित भानु मिनिपिचमा औपचारिक रूपमा उद्घाटन गरिएको हो।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो। सो अवसरमा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, वडा अध्यक्षहरू भागवत घिमिरे र अर्जुन प्रसाद तिमल्सिना, मकवानपुरगढी खेलकुद विकास समितिका सदस्य विक्रम लामा, वडा नं. ४ अन्तर्गतका टोल विकास संस्थाका अध्यक्षहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष स्याङतानले मकवानपुरगढी गाउँपालिकाले खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन तथा खेल संस्कृतिको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर विशेष योजनाहरू अघि बढाइरहेको बताउनुभयो। उहाँले खेलकुद गतिविधिलाई संस्थागत र प्रभावकारी बनाउन गाउँपालिकाले खेलकुद विकास समिति गठन गरेको उल्लेख गर्दै आगामी दिनमा खेल क्षेत्रलाई थप व्यवस्थित र सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष स्याङतानले गाउँपालिकाले सबै खेल विधालाई समान अवसर दिने नीति अवलम्बन गरेको बताउँदै क्रिकेट खेललाई समेत प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो। उहाँले खेलकुदले युवाहरूलाई अनुशासित, जिम्मेवार र सकारात्मक दिशातर्फ उन्मुख गराउने भएकाले स्थानीय तहले यस क्षेत्रलाई विशेष महत्व दिएको स्पष्ट पार्नुभयो।

खेलकुद विकास समितिका अध्यक्ष सुनिल पाख्रिन तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त प्रतियोगिता जेठ ९ र १० गते सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि वडा नं. ४ बाट २ लाख ९० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ।

प्रतियोगितामा मकवानपुरगढी गाउँपालिका वडा नं. ४ अन्तर्गत रहेका विभिन्न टोल विकास संस्थाहरूको सहभागिता रहेको छ। स्थानीय तहस्तरमा खेलकुद गतिविधिलाई चलायमान बनाउने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले युवामा उत्साह थप्नुका साथै सामाजिक एकता र सहकार्यलाई समेत बल पुर्‍याउने अपेक्षा गरिएको छ।