Breaking
7 Dec 2024, Sat

हेटौँडा एकेडेमीले फुटबल एकेडेमी सञ्चालन गर्ने, एन्फासँग सम्झौता

हेटौँडा- हेटौँडा-११ स्थित सहिदस्मारकमा अवस्थित हेटौँडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले अब फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ। यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र विद्यालयबीच सम्झौता सम्पन्न भएको छ।

आज विद्यालयमा आयोजित विशेष कार्यक्रममा एन्फाका पदाधिकारी र विद्यालयका प्रतिनिधिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। एन्फा महासचिव किरण राईका अनुसार, सिस्नेरीस्थित वत्सलादेवी माविमा असोज १२ गतेको अविरल वर्षाका कारण उत्पन्न दुखद घटनाका कारण त्यहाँको फुटबल कार्यक्रम स्थगन भएपछि यो अवसर हेटौँडा एकेडेमीलाई दिइएको हो।

सम्झौताअनुसार, फुटबल एकेडेमीका विद्यार्थीहरूले अब हेटौँडा एकेडेमीको व्यवस्थापन अन्तर्गत अध्ययनसँगै फुटबल प्रशिक्षण जारी राख्न सक्नेछन्। विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले एकेडेमीकै मैदानमा अध्ययन र प्रशिक्षण दुवै सहज रूपमा सञ्चालन गरिने जानकारी दिए।

यो साझेदारीले विद्यालयलाई फुटबल क्षेत्रमै महत्वपूर्ण भूमिका खेल्न र विद्यार्थीहरूको खेलकुद क्षमतामा वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

Ad
Ad