
काठमाडौँ : नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच फिल्म ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक भएको हो।
अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको फिल्ममा गाइने प्रथा देखाइएको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेता विजय बरालले आफूले सिनेमामा पहिलो पटक गाइने पात्रको चरित्रमा अभिनय गरेको बताए।
उनले थिएटरमा यस्ता पात्रको भूमिका निर्वाह गरे पनि फिल्ममा पहिलो अनुभव रहेको बताए। फिल्मलाई सबैले मन पराइदिनेमा आशावादी रहेको उनले बताए।
अभिनेत्री बराइलीले पूर्णबहादुरको सारंगीलाई पनि धेरै दर्शकहरुले मन पराउनेमा आशावादी रहेको बताइन्।
फिल्ममा सारंगी संस्कृति जोगाउन गाइने समुदायले गर्ने संघर्षको कथा समेटिएको छ। ३ मिनेट २६ सेकेण्ड लामो ट्रेलरले सारंगीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने संघर्षको कथा देखाइएको छ।
सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। यो फिल्म कात्तिक १५ गते प्रदर्शनमा आउँदै छ।







