काठमाडौं – देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापाका अनुसार कात्तिक २ र ३ गते ५ वर्षमुनिका बालबालिकालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन हुनेछ।

थापाले सात सय ५३ स्थानीय तहमा कार्यक्रमको व्यवस्था गरिएको जानकारी दिँदै, स्वास्थ्य स्वयंसेविकाहरूलाई विद्यालय र वडा कार्यालयजस्ता पायक पर्ने स्थानहरूमा परिचालन गरिएको बताए। हरेक वर्ष राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, र एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिन्छ।

थापाले भने, “बालबालिकाको सर्वाङ्गीण विकासका लागि खोप र पोषण दुबै अत्यावश्यक छन्। करिब २१ लाख ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’, र १८ देखि १९ लाख १ देखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखेका छौँ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस कार्यक्रमको बारेमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकको स्वास्थ्य संस्था तथा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।