मकवानपुरका युवा आयुष बोम्जन मिस्टर नेपाल २०२४ प्रतियोगितामा सहभागी रहेका छन् । हेटौंडा १५ नम्बर वडाका उनी मिस्टर नेपाल २०२४ को प्रतिस्पर्धामा रहेका हुन् ।

पछिल्लो समय मकवानपुरमा उनको लागि भोटिङ गर्न विभिन्न संघसंस्थाले सार्वजनिक आव्हान गर्नुका साथै अभियान नै सञ्चालन गरिरहेका छन् । देशभरबाट छानिएर भोटिङ राउण्डमा पुगेका आयुषलाई जिताउन ई–सेवाबाट भोट गर्नुपर्ने हुन्छ । मिस्टर नेपाल २०२४ प्रतियोगितामा उनको भोटिङ कोड नम्बर ६ रहेको छ । ई–सेवा भोटिङ र इभेन्ट सेक्सनमा गएर मिस्टर नेपालको भोटिङ अप्सनमा कोड ६ छनोट गरेर भोट दिन सकिन्छ । प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालका अनुसार १८ देखि ३२ वर्ष उमेर समूहका युवाहरू यस प्रतियोगितामा सहभागी रहेका छन् । मिस्टर नेपालको विजेताले मिस्टर वल्र्ड २०२४ वा मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुका साथै नगद पुरस्कार र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् । बसामाडी जेसीज वर्ष सन् २०२४ का उपाध्यक्ष समेत रहेका बोम्जन मकवानपुरको सामाजिक अभियानमा समेत सहभागी हुँदै आएका युवा हुन् । उनले केही समय रेडियो मकवानपुरमा सञ्चारकर्मीको रुपमा समेत कार्य गरेका थिए ।

यसअघि मकवानपुरले मिस नेपालको रुपमा श्रृङ्खला खतिवडा पाइसकेको अवस्थामा आयुषलाई मिस्टर नेपाल बनाउन सबैको सहयोग जरुरी रहेको उनको परिवारको भनाई छ । ‘मकवानपुरकै प्रतिनिधित्व गर्दै अहिले आयुषले मिस्टर नेपाल २०२४ मा प्रतिस्पर्धा गरिरहेको छ । यो अवस्थामा सबैको सहयोगको अपेक्षा गरेका छौं’, आयुषका बुवा केशर बोम्जनले भने, ‘ई–सेवाबाट जतिसक्दो धेरै भोटिङ गरिदिनुहुन मकवानपुरबासीसहित हामीलाई माया गर्नुहुने सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं ।’