Comments Add Comment

प्रतिबद्धता पूरा नभए फेरि हात जोडेर आउँदिन: पराजुली

लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले अहिले निर्वाचनको समयमा जनताको माझ गरेको प्रतिबद्धता पूरा गर्न नसके अर्को पटक फेरि हात जोडेर मत माग्न नआउने बताएका छन् ।

‘अहिले जनतामाझ गरेको प्रतिबद्धता पूरा गर्न नसके अर्को पटक चुनावमा उम्मेदवार नै हुँदिन’, युवा भेलामा उनले भने, ‘हामी जे बोल्छौं, त्यो पूरा गर्छौं, गर्न नसक्ने हावादारी बोल्दैनौं । तपाईंहरुको काम गर्न, सेवा गर्न आएका हौं । बोलेको कुरा पूरा गर्न सकेनौं भने अर्को पटक हात जोडेर आउँदैनौं । हामी काममा विश्वास गर्छौं ।’ जनमतको अपमान गर्ने एमालेसंग अहिले कुनै एजेण्डा नै नभएको आरोप लगाएका छन् । एजेण्डाविहीन एमालेले अहिले गठबन्धन भत्काउन अनेक षड्यन्त्र गरिहेको बताए । युवा भेलामा उनले मकवानपुरको क्षेत्र नम्बर १ का एमालेका नेता कार्यकर्ता समेत गठबन्धनलाई मतदान गर्न तयार रहेको दावी गरे । ‘एमालेका असली नेता कार्यकर्ताहरु अहिले पीडामा छन् ।

एमालेमा बर्षौं काम गरेका नेताहरुलाई पाखा लगाएर व्यवस्था विरोधीलाई टिकट दिएको छ’, पराजुलीले भने, ‘हामी साझा उम्मेदवार हौं, साझा भएरै काम गर्नेछौं । एमालेको पनि काम गर्छौं ।’ पछिल्लो समय आर्थिक प्रलोभन देखाउँदै केही उम्मेदवार गाउँ डुलिरहेको जानकारीमा आएको भन्दै उनले अहिले पैसा बाँड्नेले पछि भ्रष्टाचार गर्ने भएकोले सतर्क रहन अनुरोध गरे । जागरुक युवाहरुले अब परिवर्तनको पक्षमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने र मतदान गर्न लगाउनुपर्ने सुझाव दिए ।

तरुण दलका नेता सुशील सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली पाख्रीन, कांग्रेस मकवानपुर सचिव ईश्वर पाठक, युवा संघका केन्द्रीय सचिवालय सदस्य कविन पन्त, वाइसीएलका जिल्ला अध्यक्ष लवराज ठकुरी, युवा संघ नगर इन्चार्ज सफल अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर