नेकपा एमालले हेटौंडा–काठमाडौं रोप–वे पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्दै एमालेले बन्द रहेको हेटौंडा–काठमाडौं रोप–वे पुनः सञ्चालन गर्ने भनेको हो । एमालले यसलाई काठमाडौं केन्द्रित मालसामान ढुवानीमा प्रयोग गर्ने समेत उल्लेख गरेको छ ।
देशका अन्य स्थानमा समेत सम्भाव्यता अध्ययन गरी माल सामान ढुवानी गर्न रोप–वे बनाउने एमालेको घोषणा छ । कुनै समय काठमाडौंको अनिकाल हटाउने पूर्वाधारका रुपमा स्थापित रोप–वेको अहिले अस्थपिञ्जर मात्र बाँकी छ । अघिल्लो चुनावपछि करिब तीन वर्ष बढी समय सत्तामा बसेको एमालेले रोप–वे सञ्चालनमा पहल गरेको थिएन ।