गठबन्धन तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले गठबन्धनको बिषयमा विरोधीहरुले गलत हल्ला फैलाउँदै भ्रम सृजना गरिरहेकोले त्यसको पछि नलाग्न अनुरोध गरेका छन् ।

हेटौंडा ८ मा भएको कार्यक्रममा उनले भने, ‘गठन्धन दलको बीचमा राम्रो छैन, एकले अर्कालाई भोट हाल्दैन, कांग्रेसले कांग्रेसकै उम्मेदवारलाई भोट दिँदैन भनेर चोकचौतारामा गलत हल्ला फैलाइएको पाएका छौं । यस्ता कुरामा कुनै तुक छैन । गठबन्धनबाट मकवानपुरका ६ जनै उम्मेदवार विजयी हुनेछौं ।’ मकवानपुरमा पटक पटक एमालेलाई जिताएपनि देखिने काम केही नभएको उल्लेख गर्दैै उनले एकपटक लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरे ।

‘हामी एमालेलाई हराउन गठन्धन गरेका होइनौं । हाम्रो अधिकार एवम् प्राप्त उपलब्धीहरुको रक्षा, संविधान र मुलुकलाई जोगाउनका लागि गठबन्धन गरेका हौं’, पराजुलीले थपे, ‘म सहित गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्यायलाई समेत मतदान गरी विजयी गराइदिनुहुन अनुरोध गर्दछु ।’ संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको महिला नेतृ उम्मेदवारको रुपमा पाएको उल्लेख गर्दै उनले डिना उपाध्यायले जितेमा मकवानपुरले मन्त्री पाउने जानकारी दिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता रामजी नेपाल, नेकपा एसका हेटौंडा उपमहानगर अध्यक्ष ध्रुव भुजेल लगायतले गठबन्धनको जितले मात्रै मुलुकको हित हुनसक्ने धारणा राखेका थिए ।