आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरमा प्रतिनिधिसभातर्फ दुई क्षेत्रका लागि राजनितिक दल र स्वतन्त्रबाट २७ जनाले मनोनयन दर्ता गराएका छन् । मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा २ जना स्वतन्त्रसहित १६ जना र मकवानपुर क्षेत्र नम्बर–२ बाट एक जना स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

मकवानपुर क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ चुनाव लड्न सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले उम्मेदवारी दर्ता गराएकी छन् भने एमालेको समर्थनमा ‘सूर्य’ चिन्हबाट चुनाव लड्ने गरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दिएका छन् । सोही क्षेत्रमा राप्रपाबाट सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका दीपक बहादुर सिंहले पनि उम्मेदवारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा, मौलिक जरोकिलो पार्टीबाट संगिन श्रेष्ठ, नेपाली कांग्रेस (बीपी)बाट सुरेन्द्र भट्टराई, मंगोल नेशलनल अर्गनाइजेशनबाट युवराज लामा, सचेत नेपाली पार्टीबाट पंचलाल तामाङ, मालेबाट कृष्णप्रसाद दाहाल, स्वतन्त्रबाट सुभाष पौडेल, आइतराम तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट रुपक लामा, नेमकिपाबाट शान्तलाल भैल, हाम्रो नेपाली पार्टीबाट दिपेन्द्रचन्द ठकुरी, जनता समाजवादी पार्टीबाट इन्द्रमान थिङ, जन समाजवादी पार्टीबाट मनबहादुर दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका विरोध खतिवडाले उम्मेदवारी दिएका छन् भने एमालेबाट महेश बर्तौला उम्मेदवार बनेका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टीबाट रत्न प्रसाद प्रजापति, राप्रपाबाट राजन मैनाली, मंगोल नेशनल अर्गनाइजेशनबाट जीवन स्याङ्तान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुली, सचेत नेपाली पार्टीबाट कुलेन्द्र दीप विक्रम न्यौपाने, मालेबाट उद्धव प्रसाद अधिकारी, नेकपा नेशनलिष्ट पिप्लस पार्टीबाट तुला बहादुर लामा र स्वतन्त्रबाट प्रदिप कालाखेतीले उम्मेदवारी दिएका छन् ।