काठमाडौं – नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आजदेखि समापन हुँदैछ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।
आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आम नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।
माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।