आज देखि हेटौडाको हुप्रचौरमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा उपमेयर कप भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडामध्ये ९ वटा महिला टिम र १२ वटा पुरुष टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

हेटौंडाको हुप्रचौरमा असोज ९ गते सम्म हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । चौथो संस्करणको प्रतियोगिता आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको प्रतिष्ठानका महासचिव बसन्त कुमार सिटौलाले जानकारी दिनुभयो ।

यस्तै प्रतिष्ठानले असोज १० गतेबाट दोस्रो संस्करणको जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने र विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताको संयोजक ईन्द्रप्रसाद सञ्जेलले बताउँनु भयो ।