आफूले बाचा गरेबमोजिम आइतबार बञ्चरेडाँडामा फोहोर फ्याँक्न नपाउँदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आक्रोशित बनेका छन्। उनले आफूले दैनिक २५० देखि ३५० फोहोर बोक्ने गाडीहरुले बञ्चरे डाँडामा फोहोर लैजाने जानकारी गराए पनि दुई स्थानमा अलग अलग कारणले सडक अवरुद्ध गरिँदा ९० वटा फोहोरका गाडीहरु मात्र बञ्चरे डाँडा पुग्न पाएको भन्दै रोष व्यक्त गरेका हुन्।

उनले फोहोर पानीको मुहानमा लगेर फ्यालिएको भनेर सडक अबरुद्ध गरिएकामा दोषीलाई कारबाही भइसकेको जानकारी पनि गराए। त्यस्तै, फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने अर्को अवरोधको कारण पनि समाधान भइसकेको उनले सामाजिक सञ्जालमा लेखेका छन्। यी दुई अवरोध हटाउनेबित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको जानकारी पाएको भन्दै उनले आक्रोश पोखेका हुन्।