हेटौंडा उपमहानगरपालिकाले यही शैक्षिक सत्रबाट उपमहानगरपालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। उपमहानगरले कक्षा १ देखि कक्षा ३ सम्म ‘हाम्रो हेटौंडा’ नामको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो। हाम्रो हेटौँडा नामक उक्त पुस्तकको छपाइ भइरहेको उपमहानगरकी मेयर मीनाकुमारी लामाले जानकारी दिइन्।

सो पुस्तकमा स्थानीय स्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवर्द्धनलगायत विषय समेटिएको जनाइएको छ। उक्त विषयको संरक्षणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको मेयर लामाको भनाइ छ। उपमहानगरमा ७६ सरकारी र ५० निजी गरी १ सय २६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराइएको उपमहानगरले जनाएको छ। १ सय ६० पूर्णाङ्क रहेको सो पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म सातामा ५ घण्टा अध्यापन गर्नुपर्ने व्यवस्था रहेको छ। त्यसमा ६० प्रतिशत सैद्धान्तिक तथा ४० प्रतिशत अङ्क प्रयोगात्मक रहने बताइएको छ।