मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले बन्द गरेको ५ वटा क्रसर उद्योग मध्ये साइबाबा क्रसर उद्योग पुनःसञ्चालनमा आएको छ । साइबाबा क्रसर उद्योगले राजश्व र जरिवाना सहित ६४ लाख ६२ हजार १ सय ४१ रुपैँया गाउँपालिकालाई बुझाएर पुनःसञ्चालनमा आएको गाउँपालिका योजना शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाको वडा नंम्बर २,५ र ६ मा सञ्चालन हुँदै आएको क्रसर उद्योगहरुले गाउँपालिकालाई तिर्नु पर्ने राजस्व नतिरेको भन्दै गत असार २५ गते गाउँपालिकाका उपाध्यक्षसहितको टोलीले उद्योगहरुमा ताला लगाएका थिए । बन्द रहेको ५ वटा क्रसर उद्योगहरु मध्ये अझै ४ वटाले तिर्नु पर्ने भुक्तानी बाँकी रहेकोले बन्द अवस्थामै रहेको र तिर्न सकरात्मक रहेको गाउँपालिकाका उपाध्यक्ष मान कुमारी पाख्रिन (नेपाली) ले जानकारी दिईन् ।

गाउँपालिकाको वडा नंम्बर –५ स्थित आधुनिक क्रसर उद्योगले राजश्व र जरिवाना बापत ३१ लाख ५३ हजार २ सय ८२ रुपैयाँ, आमभञ्ज्याङ एग्रिगेटले २८ लाख १० हजार २७ रुपैयाँ राजश्व भुक्तानी गर्न बाँकी रहेको छ । मकवानपुरगढी–२ स्थित नमुना बालुवा उद्योगले राजश्व र जरिवाना बापत ३० लाख ७१ हजार ३ सय ६६ रुपैयाँ र मकवानपुरगढी–६ स्थित सामरी खोला बालुवा उद्योगले ५४ लाख ८६ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।