नेपाली कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गरेको छ । त्यस्तै नेपाली कांग्रेस मकवानपुरले हेटौंडामा पनि विरोध प्रदर्शन गरेको छ । ओली सरकारले गरेको संसद विघटनको विरुद्ध सर्वसत्तावाद, भ्रष्टाचार असंबैधानिक कदम विरुद्धको अकर्मण्यता मुर्दावाद संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद भन्ने नाराका साथ हेटौंडामा विरोध प्रदर्शन गरीएको हो ।

बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा जिल्ला पार्टी सभापति ईन्द्र बहादुर बानियाँको नेतृत्वमा पार्टी कार्यालयबाट निस्किएको प्रदर्शन कांग्रेस चोक, मानसचोक, चौकीटोल ओरालो हुदैं उद्योग वाणिज्य संघको भवन अगाडी पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेता बानियाँले कम्युनिष्ट सरकारले चालेको जुन संसद विघटन गरे त्यो प्रतिगमन उन्मुख रहेको बताए । विरोध प्रदर्शनमा प्रदेश सभा सदस्य सन्त चेपाङ, जिल्ला तहका पदाधिकारी, क्षेत्रीय, गाउँपालिकाका नेता, भातृसंगठनका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।