नेकपा माओवादी केन्द्र मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । शनिबार हेटौंडा–४ स्थित पार्टी कार्यलयमा आयोजित कार्यक्रममा मकवानपुरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा र टिका लगाएर बधाई तथा शुभकामना दिएका हुन् ।

मकवानपुरको दश स्थानीय तहमा एकसय २६ जना जनप्रतिनिधि निर्वाचित भएको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिनले बताए । उनका अनुसार एक मेयर,एक पालिका अध्यक्ष,पाँच पालिका उपाध्यक्ष र २४ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । ९५ जना वडा सदस्य, ८ जना कार्यपालिका सदस्य मनोनित र एक जना जिल्ला समन्वय समितिको सभापति निर्वाचित भएको पाख्रिनले बताए ।

नेकपा माओवादी केन्द्र मकवानपुरका इन्चार्ज तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु प्रमिला पुलामी,आसा नेपाली,बागमती प्रदेशका उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु),मकवानपुर संयोजक सर्केश घलान लगायतकाको आतिथ्यताा रहेको थियो ।