सर्लाहीमा जारी छैठौं राजर्षी गोल्डकपको हेटौँडाको पिप्ले युवा क्लबले जितेको छ । आइतबार भएको फाइनल खेलमा साविक विजेता पिप्ले हेटौंडा क्लवले ट्राईब्रेकरमा ए डिभिजन टिम मच्छिन्द्रलाई पराजित गरेको हो । निर्धारित समयमा खेल बराबरीमा सकिएपछि ट्राईब्रेकरबाट नतिजा छिनोफानो गरेको थियो । ट्राइब्रेकरमा दुबै टिमको ३–३ गोल भएपछि सडन डेथको पहिलो प्रहारमै पिप्ले विजयी भएको हो । सडन डेथमा मच्छिन्द्रका छिरिङ गुरुङको प्रहार क्रसबारमा लागेर फर्किएपछि पिप्लेका रुपमबहादुर लामाले प्रहार गरेको गोल नै निर्णायक भयो ।

उपाधि जितेसँगै पिप्ले हेटौंडाले नगद १० लाख रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा मछिन्द्रले ५ लाख रुपैँयामा चित्त बुझाएको छ । खेलको म्यान अफ द म्याच पिप्ले हेटौंडाका किपर अशोक बराल घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट पिप्ले युवा क्लबका रुपबहादुर लामा घोषित भएका छन् । उनले ५१ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे, उत्कृष्ट स्ट्राइकर मच्छिन्द्रका बिमल घर्ती मगर, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर बागमती युवा क्लबका अमर श्रेष्ठ र उत्कृष्ट मिडफिल्डर मच्छिन्द्रका सुजल श्रेष्ठ घोषित भए ।