प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत् हेटौंडामा जारी पुरुष फुटबलमा नुवाकोटलाई हराउँदै मकवानपुरले सानदार जीत निकालिएको छ । सोमबार हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा भएको खेलमा नुवाकोटलाई ३–० गोलको अन्तरले हराउँदै मकवानपुरले जितेको हो ।

जितसंगै मकवानपुरले अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । मकवानपुरको जीतमा सुदिप सापकोटाले दुई र समिरराज थोकरले एक गोल गरेका थिए । खेलमा दुई गोल गरेका सापकोटा खेलको म्यान अफ दी म्याच भएका छन् ।

सोमबार नै भएको पहिलो खेलमा रामेछापले सिन्धुपाल्चोकलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको थियो । निर्धारित समयमा गोल रहित बराबार भएपछि खेल टाइब्रेकरमा गएको थियो । ट्राईब्रेकरमा रामेछापले ४–२ गोल अन्तरले विजयी भएको हो । खेलको म्यान अफ दी म्याच रामेछापका गोलरक्षक युवराज तामाङ घोषित भए ।