नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा समायोजन गर्नुपर्ने माग गरेको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गरी इन्धनमा भएको अत्याधिक मूल्य वृद्धिका बाबजुद सरकारले भाडा समायोजनमा बेवास्ता गरेको भन्दै जतिसक्दो चाँडो भाडा समायोजन गर्नुपर्ने माग गरेको हो ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढाएपछि यातायात व्यवसायीले भाडा वृद्धि गर्नुपर्ने माग गर्न बाध्यता भएको महासंघको भनाइ छ । महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले पछिल्लो समय इन्धनमा भएको मूल्य वृद्धिको विरोध गर्दै आगामी चैत ७ गतेसम्म भाडा समायोजन नभएमा बाध्य भई वैज्ञानिक भाडा कार्यविधिलाई आधार मानी महासंघले नै भाडा समायोजन गर्ने बताए ।