कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन्। कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो। मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागू गर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको हो।

मन्त्रालयले वार्षिक बिदामा समायोजन हुने गरी शैक्षिक संस्था बन्द गर्न भने पनि जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवालाको सल्लाहबमोजिम जिल्लामा कोभिडको सङ्क्रमण भयावह र डरलाग्दो अवस्थामा नपुगेकाले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी रानाले बताए। डिसीसीएमसीका संयोजकसमेत रहेका प्रजिअ रानाले स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोही कार्यविधिबमोजिम कोरोना सङ्क्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जानकारी दिए।