मकवानपुरका पत्रकार धर्मेन्द्र दाहाल पत्रकारिता पुरस्कारद्वारा सम्मानित भएका छन् । राष्ट्रिय भलिवल टिमका मुख्य प्रशिक्षक स्वर्गिय केशवलाल श्रेष्ठको स्मृतिमा स्थापना भएको ‘स्वर्गिय केशवलाल श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार–२०७८’ बाट दाहाललाई सम्मान गरिएको हो ।

हेटौँडाबाट सञ्चालन हुँदै आएको खबरब्रेक डटकमका सम्पादक समेत रहेका दाहाललाई नगद ११ हजार १ सय ११ रुपैँया सहित सम्मानित गरिएको हो । मकवानपुरको आमभञ्याङमा शनिबार सम्पन्न भएको जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिताको समापन समारोहको अवसरमा दाहाललाई सम्मान गरिएको हो । जिल्ला भलिवल संघ मकवानपुरका पूर्व उपाध्यक्ष इन्द्रप्रसाद सञ्जेलले स्थापना गरेको पुरस्कार अब प्रत्येक वर्ष प्रदान गरिने बताईएको छ । जिल्लाको भलिवल खेलको उत्थान, विकास र प्रचारप्रसारमा महत्वपूर्ण योगदान दिएको भन्दै दाहाललाई सम्मान गरिएको हो ।