मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आजबाट हुने भनिएको जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता वर्षाका कारण स्थगित भएको छ । आमभञ्ज्याङ युवा क्लबको आयोजनामा मकवानपुरगढी–५ धादिङमा हुने प्रतियोगिता वर्षाका कारण स्थगित गरिएको क्लवका अध्यक्ष राजेश अधिकारीले जानकारी दिएको छ । आज गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँईले प्रतियोगिताको उद्घाटन गर्ने भनिएपनि मंगबार रातीदेखि नै निरन्तर वर्षाका कारण भोलि बिहिबार बिहान ११ बजे हुने र खेल समय अनकुल भए बिहान ८ बजेदेखि सञ्चालन गर्ने खेल संयोजक ईन्द्र प्रसाद संजेलले जानकारी दिए ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेको संयोजक संजेलले बताए । प्रतियोगिताको उद्घाटन खेल कैलाश गाउँपालिका र बज्रबाराही क्लब थाहानगर बीच हुने छ । प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय हुनेले ३३ हजार ३३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष राजेश अधिकारीले बताए । प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितालाई मकवानपुरगढी गाउँपालिकाले प्रायोजन गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाइ २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।