श्रीलकालाई हराउँदै नेपालले यु–१९ महिला साफ च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । बुधबार बंगलादेशको राजधानी ढाकामा भएको खेलमा नेपालले कमजोर रहेको श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गरेको हो । श्रीलंकाविरुद्ध पहिलो हाफमा ३ गोल गरेको नेपालले दोस्रो हाफमा थप तीन गोल थपेको हो । नेपालको पहिलो जितमा फरवार्ड रश्मीकुमारी घिसिङले दुई गोल गरिन् । यस्तै सविता राना मगर, रजनी थोकर, मेनुका आले मगर र सलोनी राना मगरले एक एक गोल गरे ।

जितसँगै नेपालले आफ्नो उपाधि यात्रालाई निरन्तरता दिएको छ । यसअघि नेपाल पहिलो खेलमा आयोजक बंगलोदशसँग गोलरहित बराबरीमा रोकिएको थियो । जितसँगै नेपाल दुई खेलबाट चार अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ । आयोजक बंगलादेश समान चार अंक भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो । पराजित श्रीलंका भने एक खेलअघि नै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । उसले तीन खेलबाट कुनै पनि अंक जोड्न सकेको छैन र १६ गोल व्यहोरेको छ ।यता, एक खेलबाट ३ अंक जोडेको भारत तेस्रो स्थानमा रहँदा खेलबाट तीन अंक बनाएको भुटान चौथो स्थानमा छ । श्रीलंका भने पुछारमा छ । अब, नेपालले प्रतियोगिताको आफ्नो तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्नेछ ।