Comments Add Comment

नेपाली कांग्रेस प्रदेश १ को मतदान सम्पन्न , बिहान ८ बजेबाट मत गणना सुरु हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ को मतदान सम्पन्न भएको छ । शनिबार भएको मतदानमा १८०४ मतदाता मध्ये १७५२ ले मतदान गरेका छन् । निर्वाचन समितिको कमजोरीका कारण ढिलोगरी मतदान सुरु भएको थियो । निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान प्रक्रियामा ढिलाइ भएको हो ।

प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको थियो । अर्को मतपत्र छाप्दा मतदान रोकिने भएपछि नेताहरूले नामछुटेकालाई सर्वसम्मत गर्ने निर्णय गरेपछि बिहान ८ बजे हुने भनिएको मतदान दिउँसो २ बजेपछि मात्रै सुरु भएको थियो । खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका थिए । नाम छुटेका तीनै जनाले शुक्रबार मनोनयन दर्ता गराएका थिए । मतगणना भने आज बिहान ८ बजेदेखि मात्रै सुरु गरिने निर्वाचन समितिले जनाएको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र इतर समूहबाट गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर