सरकारले राष्ट्रियसभाको निर्वाचन आउँदो माघ १२ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ गते गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले माघ ७ देखि १० गतेभित्र राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाबाट कार्यकाल निर्धारण गरिएको थियो ।

राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्यक दुई वर्षमा सकिन्छ भने एक तिहाइको पदावधि चार वर्ष हुने व्यवस्था छ । त्यही प्रावधान अनुसार २० जना सासंद्को पदावधि आउँदो फागुन २० गते सकिन लागेको हो । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो ।