वालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ईन्जिनियर राजेन्द्रमान श्रेष्ठ धरौटीमा छुटेका छन्। बुधबार विशेष अदादलका न्यायाधीश प्रेमराज कार्की र चन्द्रबहादुर सारुको संयुक्त इजलासले भवन निर्माण संभार डिभिजन कार्यालयका तत्कालीन ईन्जिनियर श्रेष्ठलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेश लगत्तै नगद धरौटी बुझाएर उनी छुटेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता तथा बेचबिखन गर्न संलग्न रहेको आरोपमा गत वर्ष माग २३ गते अख्तियार दुरुपयोगअनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्वसचिव सहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा प्रतिवाद बनाइएका मध्ये अधिकांश विशेष अदालतको आदेशमा धरौटी बुझाएर रिहा भएका छन् । केही हाजिर हुने क्रम जारी रहेको प्रवक्ता पाण्डेले जानकारी दिए।