बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजिनामा दिएकी छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट बिश्वासको मत नपाउने भएपछि संसदमा सम्बोधन गर्दै राजिनामा दिएकी हुन् । १ सय ९ सांसद रहेको बहुमतका लागि ५५ मत चाहिनेमा बागमती प्रदेशसभामा एमाले विभाजन भएपछि सत्तारुढ दल एमालेसंग ४३ सांसद रहेका छन् ।

शाक्यविरुद्धको गठबन्धनसंग नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकिकृत समाजवादीका १३ र जनता समाजवादीका एक गरी ५९ सांसद छन् । त्यस्तै, विवेकशिल साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ सांसद रहेका छन् । शाक्यले राजिनामा दिएसंगै नयाँ सरकार गठनको लागि बाटो खुलेको छ । नयाँ सरकार गठनका लागि शाक्यविरुद्धको गठबन्धनले दावी पेश गर्न नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सार्दै सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको छ ।