बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते विश्वासको मत लिने भएकी छन्। सरकारमा रहेको दल विभाजन भएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संविधानको धारा १८८ ९२०को व्यवस्था अनुसार उनले अन्तिम दिन फ्लोर टेष्ट गर्न लागेकी हुन्। भदौ २६ गते प्रदेश निर्वाचन आयोगले एमाले विभाजन भइ एकीकृत समाजवादी बनेको औपचारिक जानकारी प्रदेशसभालाई दिएको थियो।

एमालेका १३ जना सांसदले एकीकृत समाजवादी रोजेपछि शाक्यको नेतृत्व अल्पमतमा पर्नुका सार्थ विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्थामा पुगेको हो। ५६ सांसदसहित एकल बहुमत रहेको एमाले विभाजन भएपछि अल्पमतमा परेको छ। मुख्यमन्त्री शाक्यले कहिले प्रदेशसभामा विश्वासको मत अन्तिम समयमै लिने जानकारी दिइन्। बागमती प्रदेश सभामा एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सांसद छन्। बागमतीमा पाँच दलीय गठबन्धनले सरकार बनाउने निश्चित भए पनि कसको नेतृत्वमा बन्छ भन्ने टुंगो लागेको छैन। कांग्रेस र समाजवादी दुवैले दाबी पेश गरेका छन्। यो समाचार देशसञ्चारबाट साभार गरिएको हो ।