क्रियाशिल सदस्यता छानबिनका लागि निर्धारण गरिएको समय सकिँदै लाग्दा कांग्रेसले थुप्रै विवादलाई थन्क्याउँदै भागवण्डाका आधारमा बाड्ने निर्णय गरेको छ। शुक्रबार साँझ पार्टी कार्यालयमा सानेपामा बसेको प्रभावशाली नेताहरुको बैठकले विवाद भएका ठाउँका क्रियाशिल सदस्यतालाई सहमतिका आधारमा टुंग्याउने निर्णय भएको छानबिन समितिका संयोक नेता रमेश लेखकले जानकारी दिए। असार २० गतेसम्मका लागि दिइएको समयमा समितिले विवाद टुंगो लगाउन नसकेपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएपछि कांग्रेसले विवादित ठाउँमा भागवण्डका आधारमा सदस्यता बाड्ने भएको हो।

दुई नेताबीच भएको सहमतिलाई पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले अनुमोदन गरेको छ। कांग्रेसले शतप्रतिशत क्रियाशिल सदस्यता थपेर १४औँ महाधिवेशनका लागि झण्डै दश लाख पार्टी सदस्य बनाउने नीति लिएको छ। साविकको चार लाख ७० हजार नविकरणमा कुनै समस्या नभए पनि निर्वाचन क्षेत्रबाट थप गरेर पठाइएका नयाँ क्रियाशिल सदस्यताबारे भने चर्को विवाद छ। छानबिन समिति समक्ष पार्टीका संस्थापन र इतर पक्षले पाँचहजार भन्दा बढी उजुरी दर्ता गराएका छन्। ती उजुरीका बारेमा के गर्ने भन्ने अन्योलता र विवाद भइहरेका बेला नेताहरुको बैठकले राजनीतिक निर्णय गर्दै अब भागबण्डा गरेर अघि बढ्ने निचोड निनकालेको छानबिन समितिका अर्का एक सदस्यले जानकारी दिए। क्रियाशिल सदस्यता विवरणले भदौमा हुने महाधिवेशनमा नेतृत्व चयनलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले नेताहरुले कार्यकर्ता नचिढ्याउने उपायका रुपमा भागवण्डा गरेका हुन्।