2025-11-09 12:13 pm

कर्णाली प्रदेशले उत्कृष्ट कृषकलाई सुनको हलो दिने

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई सुनको हलो प्रदान गरिने बताएका छन्। ‘१८औँ राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतमा आज धान दिवस मनाउने कार्यक्रममा कृषिमन्त्री शाहीले आर्थिक वर्ष २०७८र०७९ मा कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्‍याउने र यसमा उत्कृष्ट कार्य देखाउने कृषकलाई प्रदेश सरकारले सुनको हलोले सम्मान गर्ने बताए।

‘कर्णालीमा १७ लाख जनसङ्ख्या छ तर एक लाख ३३ हजार मेट्रिक टन मात्र खाद्यान्न उत्पादन हुँदो रहेछ,’ उनले भने, ‘उत्पादनमा वृद्धि ल्याई कृषिमा आत्मनिर्भरता बढाउन कृषकलाई हौसला मिलोस् भनेर प्रदेश सरकारले उत्कृष्ट कृषकसहित अन्य कृषकलाई पनि सम्मान गरिनेछ।’मन्त्री शाहीले कर्णालीमा कोदो, फापर, मकै, चिनो, कागुनोजस्ता रैथानी बाली उत्पादन गर्न कृषकलाई प्रेरणा मिल्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरे। मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कर्णालीमा सातै प्रदेशमध्ये धान कम हुने भए पनि प्रदेश सरकारले यो खेतीमा महत्व दिएको जनाए। धान खेती मासिँदै जाँदा पोषण तथा खाद्य सुरक्षा सुनिश्चित हुन नसक्ने भएकोले खेती योग्य भूमि बचाउन सरकारदेखि नागरिक तहसम्मले जिम्मेवारीसाथ लाग्न उनले आग्रह गरे।

About the Author

Ad
Ad