मकवानपुरको बकैया गाउँपालिकाले आर्थिक वर्ष २०७८÷ ७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसाको बजेट ल्याएको छ । बिहिबार सातौ गाउँ सभाको बैठकमा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति,कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष २०७८÷७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसा को बजेट विनियोजन गरिएकी हुन् ।

नेपाल सरकारबाट प्राप्त समानिकरण अनुदान तथा राजस्व बाँडफाँड, बागमती प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान तथा राजस्व बाँडफाँड, आन्तरिक आय र चालु आर्थिक वर्षको मौज्दात समेत गरी ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैंया मध्ये संचालन खर्चतर्फ ७ करोड र विकास बजेटतर्फ २६ करोड ७७ लाख ९९ हजार ७ सय १९ रुपैंया विनियोजन गरिएको छ । नेपाल सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त २७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट सशर्त अनुदानतर्फ प्राप्त १ करोड ६७ लाख ७९ हजार गरी २९ करोड ५ लाख ७९ हजार रकमलाई सम्बन्धित तहबाट खर्च गरिने जनाईएको छ । त्यस्तै बागमती प्रदेशसरकारबाट प्राप्त २ करोड ९७ लाख ६४ हजार समपुरक अनुदानलाई प्रदेश सरकारसंगको सहकार्यमा योजना संचालन गरिने जनाईएको छ ।

प्रदेशबाट प्राप्त वित्तीय समानिकरण तथा राजस्व बाँडफाँड बार्षिक अनुमानित राजस्व आय र गतबर्षको मौज्दात गरी करिब २१ प्रतिशत हुन आउँछ भने विकास बजेटतर्फ ७९ प्रतिशत विनियोजन गरिएको छ । गाउँपालिकालाई वित्तीय समानिकरण अनुदानतर्फ १२ करोड ६२ लाख, सशर्त अनुदानतर्फ २७ करोड ३८ लाख, राजस्व बाँडफाँडतर्फ ११ करोड ३० लाख १२ हजार गरी ५१ करोड ३० लाख १२ हजार रुपैंया प्राप्त भएको जनाईएको छ ।