हेटौंडाबाट ७ जना सडक बालबालिकाको उद्दार गरिएको छ। हेटौंडा ४ हुप्रचौरमा बस्ने यी बालबालिकाको दुखदायी दैनिकी देखेर धेरै व्यक्ति तथा संघ संस्थाले खाना कपडा आदि सहयोग गर्ने गरेका थिए भने उद्दारको पहल पनि धेरै पटक भएको थियो। स्थानीय युवा समाजसेवि सुनिल गिरिले बिगत केही दिन अघि देखि खाजा, खानाको ब्यबस्था गर्दै उद्दारको पहल विशेष रुपमा गरिरहेका थिए । मामाघर नेपालका संस्थापक अर्पण पराजुलीले बाटोमानै भेटेर लामो समयदेखि परामर्श एवं खाना खाजा सहयोग गरिरहेका थिए।

धेरै व्यक्ति तथा संघ संस्थाको पहल हुँदा पनि सडक जीवन त्याग्न तयार नभएका यी बालबालिका हिजो राती सुनिल गिरि, सन्तोष अर्याल र अर्पण पराजुलीसंगको लामो कुराकानी पश्चात् जान तयार भएपछि सोमबार पिसिआर परीक्षण गरि ६ जना बालकहरुलाई मामाघर नेपालमा र १ जना बालिकालाई माइती नेपालमा संरक्षणको लागि पुर्याइएको छ। उद्दार गरिएका बालबालिकाहरुमा १५ वर्षीया सन्ध्या लामा,१० वर्षीय आकाश मलाह,१३ वर्षीय सन्दिप गोले,१५ वर्षीय मुस्कान मलाह,१८ वर्षीय उमेश तामाङ, १८ वर्षीय भिमराज थिङ र १४ वर्षीय हिमाल लामा रहेका छन् । निषेधाज्ञाको समयमा बाटोमा अलपत्र अवस्थामा रहेका बालबालिकाको उद्दार गर्न सकिएकोमा समाजसेवी गिरिले खुशी व्यक्त गरे । बालबालिकाकाको अभिभावक लाई अविलम्ब सम्पर्कमा आउन मामाघर नेपाल मकवानपुरले अनुरोध गरेको छ।