विश्वकप छनौट फुटबल अन्तर्गत दोस्रो चरणको आफ्नो सातौँ खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको छ । बुधबार राती कुवेतको अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा पहिलो हाफमा १–० गोलले अगाडि रहेको जोर्डनले हाफपछि २ गोल थपेको थियो। । जोर्डनले २४ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो। रोहित चन्दले डीबक्सभित्र ब्याक ट्याकल गर्दै लडाएपछि जोर्डनलाई पेनाल्टी प्रहारको अवसर दिइएको थियो। जोर्डनले फ्रिकिकमा ४९ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।

त्यस्तै जोर्डनले ६७ औँ मिनेटमा तेस्रो गोल गरे । नेपाल सात खेलबाट ६ अंकसहित चौथो स्थानमा छ। नेपालले अन्तिम खेलमा जुन ११ तारिखमा अस्ट्रेलियासँग खेल्ने छ। नेपालले समूहमा चाइनिज ताइपेईविरुद्ध दुवै खेल जितेको थियो भने अन्य सबै खेलमा हार ब्यहोरेको छ। जोर्डनसँग भएको पहिलो खेलमा पनि ३–० गोलले पराजित भएको थियो।