केहीदिन यता मकवानपुरगढीको भानु माध्यामिक विद्यालयको शिक्षक र विद्यार्थीबीचको  दुर्व्यवहार सम्वन्धी विषयलाई लिएर उठिरहेको सवालमा शिक्षकका पेशागत संस्थाहरुको ध्यानाकर्षण भएको छ ।  शिक्षक महासंघ मकवानपुरगढीका अध्यक्ष  लिलानाथ ढुङ्गेल सहित पेशागत घटक संस्थाका अध्यक्षहरु समेतको हस्ताक्षर भएको विज्ञप्तीमा  शिक्षकका कुरालाई अतिरञ्जित नबनाउन आग्रह गरिएको हो ।

हेर्नुहोस् विज्ञप्ती:

विद्यार्थीहरुमा विद्यालयले लागू गरेको अनुशासन पालना गर्नुपर्ने विषय र यसै वर्षको फाल्गुण २९ गते विद्यार्थीसहित भएको एकदिने भ्रमणको कुरालाई अतिरञ्जित बनाएर केही तत्वहरुले शिक्षकमाथि नै गम्भीर आरोप लगाएको प्रति शिक्षकका पेशागत संस्थाहरुको ध्यानाकर्षण भएको  विज्ञप्तीमा उल्लेख छ । भ्रमणमा गएका विद्यार्थीसहित सम्वद्ध सराोकारवाला पक्षसंग समेत शिक्षक महासंघ र पेशागत संस्थासहितको टोलीले आज गरेको सोधपुछमा कुनै पक्षबाट पनि त्यस्तो अवाञ्च्छित कुनै क्रियाकलाप नभएको  विज्ञप्तीमा उल्लेख गर्दै शिक्षकको चरित्र हत्या नगर्न आग्रह गरिएको छ । विज्ञप्तीमा महासंघ अध्यक्ष सहित नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरगढी अध्यक्ष शीवप्रसाद लामिछाने, शिक्षक संघ मकवानपुरगढी अध्यक्ष प्रल्हाद घिमिरे,  एकीकृत अखिल नेपाल शिक्षक संगठन अध्यक्ष यादव अधिकारी लगायतको संयुक्त हस्ताक्षर रहेको छ ।

विद्यार्थीको पठनपाठनमा समेत अवरोध पुग्नेगरी कुनै अराजक जत्थाबाट गरिएको यस्तो निन्दनीय कार्यको दोषीलाई कडा कार्वाही गरी शिक्षकलाई ससम्मान रिहा गर्न पनि सम्वन्धित निकाय र प्रशासनसंग  विज्ञप्तीमार्फत माग गरिएको छ ।

यता यसै प्रसङ्गलाई लिएर भानु माध्यामिक विद्यालयले भने वर्तमान परिस्थितीलाई मध्यनजर गर्दै सम्वन्धित तथा असम्वन्धित पक्षहरुको अवरोधको कारण अनिश्चितकालका लागि विद्यालयको पठनपाठन स्थगित गरेको छ । आज विद्यालयको आधिकारिक लेटरप्याडमा सूचना जारी गर्दै विद्यालयमा यसै विषयलाई लिएर दिनहुँ भईरहेको व्यवधानका कारण पठनपाठन अनिश्चितकालका लागि बन्द गरिएको  जनाएको छ ।

हेर्नुहोस् सूचना:

पछिल्लो समय शिक्षकको पेशामा नै धक्का पुग्नेगरी लगातार भईरहेको ज्यादतीका विरुद्द सबै एकजुट भएर लाग्नुपर्ने र वास्तिवक दोषीलाई मात्र कार्वाहीको दाहेरामा ल्याउनुपर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले बताउनुभयो । शिक्षकको पेशागत सुरक्षामा आघात पुग्नेगरी दिनहुँ भईरहेको यस्ता घटनाहरुले शिक्षाकर्मीहरुको मनोवल घटिरहेको अवस्थामा सम्वन्धित निकायले पनि गहिरो अनुसन्धान गरी वास्ताविकता बाहिर ल्याउन शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीले अनलाईनपत्रलाई बताउनुभयो ।