नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्ष पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारलाई पेन्सन कोष सञ्चालन गरेर त्यसको व्याजबाट पेन्सन वितरणको काम सुरु गरेको छ । महासंघ मकवानपुर साखाले सोमबार पेन्सन बितरण शुभारम्भ कार्यक्रमको आयोजना गर्दै वितरणको काम सुरु गरेको हो । कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर साखाका पूर्व अध्यक्ष नबराज शर्मालाई पेन्सन वापतको रकम वितरण गर्नुभयो । उहाँले यो पेन्सन कोषमा अरु पनि रकम थप गरिने वताउनुभयो ।

करिब ४० वर्ष सम्म पत्रकारिता गरेर निबृत जिवन बिताइरहनु भएका शर्मालाई चैत महिनाको ४ हजार रुपैयाँ पेन्सन वापत बितरण गरिएको हो । २० वर्ष सम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिन सुरु गरिएको हो । पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको र अबका दिनहरुमा पनि सहयोगलाई जारी राख्ने मेयर महतले वताउनुभयो । पत्रकार महासंघका ७७ वटै जिल्लाका साखा, प्रदेश र केन्द्रमा पहिलोपटक महासंघ मकवानपुर साखाले जेष्ठ पत्रकारलाई पेन्सन वितरणको काम सुरु गरेको अध्यक्ष हरि हुमागाईले वताउनुभयो । पेन्सन सम्वन्धी कार्यविधिलाई महासंघको बितेको मंसिर २६ गतेको साधारण सभाले पारित गरेको छ ।

महासंघ मकवानपुर शाखामा आवद्ध हुनुभएका सदस्यहरु मध्ये जेष्ठ सदस्यको वृत्ति बिकास गर्नका लागि पेन्सन दिन सुरु गरिएको हो । लगातार कम्तिमा बीस वर्ष मुख्य पेसा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी बिश्राम लिइसकेपछी प्राप्त निबेदनका आधारमा पेन्सन रकम दिन सुरु गरिएको अध्यक्ष हमागाईले वताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ठले नेपालमै पहिलोपटक मकवानपुर महासंघले राम्रो काम गरेको वताउनुभयो । प्रदेश र केन्द्रले पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेपनि त्यो कार्यान्वयन गर्नका लागि समस्या रहेको वताउनुभयो । जेष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछी कोषबाट व्यय हुने गरी मासिक रुपमा चार हजार रुपैयाँ प्रदान गरिने र कोषमा रकम बृद्धी भएसंगै पेन्सन रकम पनि बृद्धी गर्ने तयारी छ ।

कार्यक्रममा ब्रोकाष्टिङ एसोसीएसन अफ नेपालका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, प्रेस चौतारी बागमती प्रदेशका सहसंयोजक प्रकास दाहाल, प्रेस सेन्टर बागमती प्रदेशका संयोजक सुनिल खड्का, प्रेस चौतारी मकवानपुरका संयोजक धर्मेन्द्र दाहाल लगायतकाको सहभागिता रहेको थियो । पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी ९पोष्टराज० ले स्वागत गर्नु भएको कार्यक्रम सचिब गणेश दर्पण अधिकारीले सञ्चालन गर्नु भउको थियो । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष हुमागाईले मायाँको चिनो दिनु भएको छ ।