मकवानपुरको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा जारी स्थानिय तह सहिद स्मृति गोल्डकप फुटबलमा आज भएको खेलमा साविक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ फाइनलमा प्रवेश गरेको छ । आजबाट सुरु भएको सेमिफाइनल खेलमा एडिभिजन लिग बिजेता मछिन्द्र क्लबलाई हराउँर्दै मकवानपुर–११ ले फाइनलमा स्थान बनाएको छ । मकवानपुर –११ का खेलाडी अमिर श्रेष्ठ चम्कदा आयोजक हेटौंडा रिगल रिसोर्ट मकवानपुर–११ फाइनल प्रवेश गरेको छ । खेलमा मछिन्द्रलाई आयोजक टोली मकवानपुर–११ ले ४–३ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

मकवानपुरलाई जित दिलाउनको लागि अमिर श्रेष्ठले दुई, रुपेश केसी र रन्जन बिष्टले एक–एक गोल गरेका थिए भने मछिन्द्रका लागि सुजन उपरकोटी, अशोक थापा र राजेश परियारले गोल गरेका थिए । खेल शुरु भएको १० औँ मिनेटमा मच्छिन्द्र क्लवको तर्फबाट राजु उपरकोटीले पहिलो गोल गर्दै खेलमा अग्रता लिएपनि खेलको २० औँ मिनेटमा आयोजक मकवानपुर–११ को तर्फबाट रुपेश केसी गोल गर्दै खेल बराबरीमा बनाएका थिए । त्यस्तै खेलको ३५ औँ मिनेटमा मकवानपुर–११ का रन्जन बिष्टले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–१ को अग्रता बनाएको मकवानपुर–११ ले दोस्रो हाफमा २ गोल गर्दा मछिन्द्रले पनि दुई गोल गरेको थियो । निकै रोमान्चक बनेको दोस्रो हाफमा मकवानपुर–११ का अमिर श्रेष्ठले खेलको ४७ औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर परे । खेलको ५० औँ मिनेटमा मछिन्द्रका अशोक थापा गोल गर्दै ३–२ को स्थितिमा ल्याए । त्यस्तै खेलको ६४ औँ मिनेटमा राजेश परियारले गोल गर्दै मछिन्द्रलाई बराबरीमा फर्काएका थिए । त्यस्तै फेरी मकवानपुर–११ का अमिर श्रेष्ठले खेलको ६९ औँ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–३ को जित दिलाए ।

म्यान अफ दि म्याच मकवानपुर–११ का अमिर श्रेष्ठ घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् । जितसंगै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको मकवानपुर–११ ले उपाधिको लागि चैत ७ गते शनिबार फाइनल खेल भोलि बिहिबार हुने विभागिय टोली त्रिभुवन आर्मी र अफ्रिकन रुट्स एशोसिएसन (अरास) डुवल क्यामरुनबिचको विजेतासंग खेल्नेछ ।